काठमाडौँ,२१ श्रावण । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी छिन्।

बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमहरूका अनुसार, शेख हसिना र उनकी बहिनी शेख रेहना हेलिकप्टरमार्फत भारतको अगरतलातिर प्रस्थान गरेका हुन्।

समाचार संस्था एएफपीले हसिनाको निकट स्रोतलाई उद्धृत गर्दै उनीहरू गणभवन छाडेर सुरक्षित स्थानमा गएको पुष्टि गरेको छ। जानुअघि हसिनाले वक्तव्य रेकर्ड गराउन चाहेको भएता पनि उनलाई त्यो अवसर प्रदान गरिएकाे थिएन।

रोयटर्सले पनि सैनिक हेलिकप्टर चढेर हसिना र उनका परिवारका सदस्यहरू भारततर्फ प्रस्थान गरेको जानकारी दिएको छ। टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरूले प्रवेश गरेको र केहीले त्यहाँ लुटपाट गरेको देख्न सकिन्छ। कुर्सी र सोफा बोकेर हिँडेको दृश्य समेत सार्वजनिक भएको छ।

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको समाचारपछि हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित उनको सरकारी निवासमा प्रवेश गरेका छन्।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए, जसले गर्दा स्थिति चर्किएको थियो।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको थियो। यस घटनाको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका थिए।

सेनाप्रमुखले नयाँ सरकार गठनका लागि राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0