उदयपुर,२५ श्रावण । उदयपुरमा पछिल्लो समय सर्प दंशका घट्ना ह्वात्तै बढेको छ। गर्मी र वर्षायाम सुरु भएदेखि छिटफुट देखिन थालेको सर्प दंशको समस्या केही दिन यता बढेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केले जनाएको छ। खासगरी निरन्तर वर्षा हुँदा जमिनमुनि लुकेर बस्ने बिषालु सर्प, खजुरो, बिच्छीलगायत किराजन्य जीव बढ्न थालेको हो।

केन्द्रका सचिव यदुप्रसाद ढकालका अनुसार सर्पले डसेका विरामीहरु बुधबार एकैदिन ८ जना उपचारार्थ भर्ना भएका छन्। केही दिनयता निरन्तर वर्षा भईरहेको तथा चर्को घाम लागेका कारण बिसालु सर्प जमिन बाहिर निस्केर सुरक्षा र सितलको खोजी गर्ने क्रममा मान्छेसँग जम्काभेट भएर टोक्ने गरेको हुनसक्ने उनले बताए। यति धेरै विरामी आएको यो घट्ना पहिलो भएको सचिव ढकालको भनाइ छ।

साउन पहिलो सातासम्म ८ जना विरामी उपचारमा रहेको र उनीहरु निको नहुँदै बिहीबार एकैदिन ८ जना सर्पदंशका विरामी उपचारार्थ े रहेको केन्द्रले जनाएको छ।

सर्पले डसेर उपचार गर्न आउनेमा त्रियुगा नगरपालिका–५ का ६१ वर्षीय गोपीकृष्ण भट्टराई, त्रियुगा ३ की १७ वर्षीया यमुना हमाल, ३६ वर्षीया कुमारी कार्की रहेका छन्।

त्रियुगा नगरपालिका(३ भुल्केस्थित नेपाली सेनाको १८ नं। बाहिनी अड्डा परिसरमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनादेखि नै बिषालु सर्प र किराजन्य जीवले टोकेर घाईते भएकालाई सफल उपचार गर्दै आएको छ। त्यहाँ उपचार गर्न ल्याइएका कुनै पनि विरामी हालसम्म निको नभएर अन्यत्र लानुपर्ने अवस्था नरहेको सचिव ढकाल बताउँछन्।

नेपाली सेनाका दक्ष चिकित्सक टोलीले उपचार गर्ने हुँदा केन्द्रप्रति स्थानीयको दिनदिनै भरोसा र जनविश्वास बढदै गएको छ। उदयपुर मात्र नभई छिमेकी जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सिराहा र सप्तरीका स्थानीयसम्म बिषालु सर्पको डसाईमा परे यही केन्द्रमा उपचार गर्न आउने गरेका छन।

उता बिषालु सर्पको बिगबिगी हुने गरेको जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाको ताराघारीस्थित सैनिक व्यारेकमा पनि यस्तै उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। त्यहाँ उदयपुरको पश्चिमी भेगसँगै छिमेकी जिल्ला सिन्धुलीबासीले पनि सेवा पाउँदै आएका छन्।

त्यस्तै उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकामा पनि सर्पदंश उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बिषालु सर्प अत्याधिक पाइने बेलकामा वर्षेनी मानवीय क्षति बेहोर्नु परेपछि नगरपालिकाले २०७५ सालमै उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएपछि हाल मानवीय क्षति बेहोर्नु नपरेको स्थानीय बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0