लमजुङकाे|लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीयहरु त्रिपाल टाँगेर बसेका छन्। साउन १२ गतेको अविरल वर्षाले बस्ती माथिका जमिन चिराचिरा पर्नुका साथै पहिरोको जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार डाँडाँगाउँमा त्रिपाल टाँगेर बस्न थालेका हुन्।

वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब १५० मिटर माथि जमिन फाटेर स-साना दर्जनौँ स्थानमा चिरा परेको र पहिरोको जोखिम बढेको बताए। उनका अनुसार ठूलो पानी आएमा बस्ती बगाउन सक्ने भएकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट ४ र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल उपलब्ध गराइएको वडाध्यक्ष घलेले जानकारी दिए।

स्थानीयहरूले अस्थायी रुपमा मकैबारीमा त्रिपाल टाँगेर रात बिताइरहेका छन्। भदौसम्म जोखिम रहने भएकाले मकैबारीमा त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यतामा स्थानीय छन्।

गाउँका करिब १६० स्थानीयले मुख्यमुख्य सामान आफन्तकामा सारिसकेका छन्। बिहान बेलुका खाना बनाउन र खान घर जाने र सुत्नका लागि बुलुका ५ः३० बजे नै विद्यालय र आफन्तको घरमा जाने गरेका छन्।

स्थानीय कमल गुरुङले भन्छन्, “बिहानै घर फर्किन्छौँ, बालबच्चा र वृद्धाहरुलाई आफन्तकोमा छाडेर बिहान खाना खाएर खेतबारीमा काम गर्छौँ। मौसम खराब भएको बेला काम गर्दै गर्दा छाडेर अर्को गाउँ जाने गरेका छौँ। अहिले घरमा काम गर्न पनि डराइरहेका छौँ।”

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेकाले अस्थायी बसोबासको व्यवस्था गरिएको र स्थानीयहरूले त्रिपाल टाँगेर बस्न थालेका बताए। पहिरोले बस्ती सखाप गर्ने जोखिम रहेकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0