भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रे खेल जित्दै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्यसक्रममा सुदूरपश्चिमले आज शेर मल्लको ५ विकेटको सहयोगमा गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित हात पारेको छ ।
गण्डकीका लागि अश्वानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ विकेट लिए । ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २३ रन दिएर ५ विकेट लिएका थिए ।
यस्तै गजेन्द्र बोहराले २ र भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १/१ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो ।
उसका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ७३ बलमा ५ चौका प्रहार गरे ।
ओपनर टेक रावतले १५ रन, कप्तान राजु रिजालले १९, नारायण जोशीले ४६ र नरेन साउदले १३ रन बनाए ।
गण्डकीका लागि कप्तान विपिन खत्री र अंकित न्यौपानेले समान ३÷३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २/२ विकेट लिए । यसअघि सुदुरपश्चिमले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो । गण्डकीको यो लगातार तेस्रो हार हो । गण्डकी कर्णाली र लुम्बिनीसँग यसअघि पराजित भएको थियो ।