काठमाडौं । जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोड्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । अर्थात् जहाज उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।

‘धावनमार्ग छाडेको २० देखि २२ सेकेन्डमा जहाजले नियन्त्रण गुमाएको देखिन्छ,’ उनले भने, ‘प्रारम्भिक अनुमानबाट के कारणले जहाज दुर्घटना हुन पुग्यो भन्ने खुल्दैन ।’

दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकोमा १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरिसकेको छ । यो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको उपचार केएमसी अस्पतालमा भइरहेको छ ।

दुर्घटनाको समयमा मौसम सफा नै थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । जसले गर्दा दुर्घटना अझ रहस्यमय बनेको छ ।

अहिले त्रिभुवन विमानस्थल छेउछाउ विभिन्न निर्माण कार्य जारी छ । जहाज बजारिएको स्थल वरपर निर्माण सामग्रीहरू देखिन्छन् । जसका कारण जहाज बजारिएर बस्तीसम्म पुग्न पाएन । जहाजलाई ती निर्माण सामग्रीले उछिट्टिनबाट रोकेको पाइएको छ ।

‘जहाज चिप्लिएर बस्तीमा जानबाट रोकिएको देखिएको छ,’ भुल भन्छन्, ‘यसो हुनुमा एक त जहाज अलि खाल्डो भएको स्थानमा परेको छ, अर्कोतर्फ निर्माण सामग्रीहरूले समेत जहाजलाई रोकेको देखिन्छ ।’ यसबाट अझ ठूलो क्षति हुनबाट बचेको पाइएको छ ।

यो जहाजमा सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनसहित कर्मचारीहरू सवार थिए । जहाज एक नियमित मर्मत तथा परीक्षण मानिने सी–चेकका लागि पोखरा उडेको थियो । पोखरा विमानस्थलका अनुसार त्यहाँस्थित ह्यांगरमा जहाज एक महिनासम्म राखेर मर्मत गर्न अनुमति लिइएको थियो ।

सी–चेकमा जहाज लैजानुको मतलब उडानयोग्य नहुँदै उडाइएको भन्ने अर्थ भने लाग्दैन । सी–चेक जहाज बिग्रिएर गर्ने मर्मत होइन । जहाजमा कुनै अदृश्य कमजोरीहरू समेत हुन सक्ने भएका कारण उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण हुन्छ । यसै सिलसिलामा हुने बृहत् परीक्षणका लागि जहाज पोखरा लगिँदै थियो । दुर्घटनामा सौर्य एयरलाइन्सका उच्च अधिकारीहरू समेत परेका छन् ।जहाज झरेको ४ मिनेटपछि मात्रै प्रहरीले पाएको थियो जानकारी

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार जहाज भुइँमा बजारिएको ४ मिनेटपछि मात्र नेपाल प्रहरीले दुर्घटनाको जानकारी पाएको छ ।

यसबीचमा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पनि तत्काल उद्धारकर्मी पुग्न सकेको देखिँदैन ।
नेपाल प्रहरीका अनुसार प्रहरीलाई ११ बजेर १५ मिनेटमा दुर्घटनाको जानकारी आएको थियो ।

दुर्घटना बिहान ११ बजेर ११ मिनेटमा भएको प्राधिकरणले जनाएको छ । जलिरहेको जहाजबाट ११ बजेर ३४ मिनेटमा मात्र क्याप्टेन मनिषको उद्दार गरिएको थियो ।

अर्थात् दुर्घटनाको २३ मिनेटपछि मात्र क्याप्टेनको उद्दार भएको छ । ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । ११ बजेर ५० मिनेटमा चालक दलका दुई जनासहित १९ जना यात्रारत रहेको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0