काठमाडौँ ।नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार विज्ञप्ति जारी गर्दै २०औं संस्करणका लागि दुवै विधामा उत्कृष्ट आठ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो।

विगतमा उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधामा पाँच खेलाडीको मात्र मनोनयन हुने गर्दथ्यो। पहिलोपल्ट प्रारम्भिक मनोनयनमा आठ खेलाडी समेटिएको हो। पहिलो चरणमा चारै विधामा आठ खेलाडीको मनोनयन गर्ने र त्यसपछि उत्कृष्ट तीनको चयन गर्ने मञ्चले जनाएको छ। खेलाडीले २०७९ सालमा गरेको प्रदर्शनका आधारमा मनोनयन गरिएको हो।

यसपल्ट उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आसिफ शेख र रोहित पौडेल, एथलेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रूपेश जैसवाल र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्।

फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथलेटिक्सका जयरानी थारु, राजपुरा पछाई र पुष्पा भण्डारी, जुडोकी पुनम श्रेष्ठ र ट्रायाथलनकी श्रेवी महर्जन उत्कृष्ट महिला खेलाडीको प्रारम्भिक मनोनयनमा परेका छन्।

वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षकको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चका महासचिव एवं खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए। कुल ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पिपल्स चोइस अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा पनि समावेश छन्।

यी विधा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ। यसअघि अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंसराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आइएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0