काठमाडौं । काठमाडौंबाट पूर्वी नेपाल जान भरपर्दो सडक हो बीपी राजमार्ग । तर, असोज दोस्रो साता आएको वर्षा र त्यसले निम्त्याएको बाढी–पहिरोका कारण यात्रुले विकल्प खोज्नु पर्ने भएको छ । यसका लागि यात्रुलाई विकल्प बनेको छ, काठमाडौं–हैटौंडा ।
काठमाडौंबाट हेटौंडा पुग्न धेरै वटा विकल्पहरू छन् । तर, वर्षाका कारण काठमाडौं–हेटौंडा रुटका विभिन्न सडक पनि अवरुद्ध छन् ।
भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माका अनुसार बाढी–पहिरोले देशभर ३४ वटा राजमार्गको ८०५ स्थानमा पहिरो गएको थियो । जसमध्ये ७७४ स्थानको पहिरो हटाएर राजमार्ग सुचारु गरिसकिएको छ । अझै पनि ५ मुख्य राजमार्गका ३१ स्थानमा अवरोध यथावत छ । जसमा सबैभन्दा धेरै मध्यपहाडी राजमार्गमा अवरोध देखिन्छ । दोस्रोमा बीपी राजमार्गमा अवरोध धेरै देखिन्छ । तेस्रोमा कान्ति राजपथ रहेको छ ।
काठमाडौंबाट हेटौंडा पुग्ने छोटो राजमार्गका रूपमा रहेको कान्ति राजपथ अवरुद्ध भएसँगै विकल्पमा अन्य राजमार्ग प्रयोग गर्न सकिन्छ ।
हालका लागि काठमाडौं–हेटौंडा रुटमा दक्षिणकाली र सिस्नेरी सडकखण्ड विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ भने काठमाडौंबाट नौबिसे-पालुङ-भैंसे हुँदै पनि हेटौंडा पुग्न सकिन्छ ।
अहिले रात्रिकालीन ठूला बस काठमाडौं–नारायणगढ–हेटौंडा रुटमा समेत गुड्ने गर्छन् । जुन अन्यको तुलनामा बढी लामो पर्छ ।
- कान्ति लोकपथ : सातदोबाटो–हेटौंडा (अवरुद्ध)
- बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
- बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
- चन्दागिरी–मार्खु–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
- त्रिभुवन लोकपथ : थानकोट–चन्द्रागिरी–चित्लाङ–कुन्छाल–पालुङ-सिमभञ्ज्याङ–भैंसे–हेटौंडा (सुचारु)
- त्रिभुवन लोकपथ : थानकोट–नौबिसे–पालुङ– सिमभञ्ज्याङ –भैंसे–हेटौंडा (सुचारु)
- काठमाडौं–नारायणगढ–हेटौंडा (सुचारु)
भौतिक मन्त्रालयका अनुसार कान्तिलोकपथको घपेली–बगुवा खण्डको १३ किलोमिटर सडकमा क्षति पुगेको छ ।
साथै बागमती पुलमा समेत क्षति रहेको छ । बागमति पुलको एप्रोच छिटो निर्माण गरी सवारी साधन सुचारु गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
हेटौंडाबाट पूर्व जानका लागि दुई वटा राजमार्गहरू प्रयोग गर्न सकिन्छ । ती हुन् हेटौंडा-सिन्धुली-चतरा–धरान (मदन भण्डारी राजमार्ग) र पूर्व पश्चिम राजमार्ग । यी दुवै राजमार्ग हाल सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।