सर्लाही। प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ । हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट बिहीबार दिउँसो अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरबाही गरेको पाइएपछि उद्योग बन्द गराइएको हो । यी चार वटै पानी उद्योगको उत्पादन र बिक्री वितरण तत्काल बन्द गराएर प्रयोगशालामा परीक्षणका लागि पानीको नमुना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रवीण तिवारीले जानकारी दिनुभयो ।

अनुगमन टोलीले लालबन्दी नगरपालिका १ मा जुनैद अन्सारीले दर्ता नै नगरी अखाद्य रङ्ग हालेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उत्पादित कटन क्याण्डी र मेसिन समेत बरामद गरिएको छ । अनुगमनका क्रममा अखाद्य रङ्ग हालेर कटन क्याण्डी बनाइरहेको भेटिएको छ ।

त्यसै गरी अनुज्ञा पत्र नै देखाउन नसकेपछि लालबन्दी नगरपालिका–२, जुटपानीमा सिरिस ब्रान्डको पानी उत्पादन गर्ने नेशनल वार्टर प्रा.ली. बन्द गराइएको छ । प्रशोधित पानी बनाउँदा मेसिनको प्रयोग गर्नुपर्नेमा यस उद्योगमा हातबाटै पानी भर्ने काम गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

हरिवनमा रहेका पानी उद्योगले लापरबाही गरेको गुनासो आएपछि जनकपुरबाटै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको टोली आएर पानी उद्योगको अनुगमन गरेको हो ।

यसअघि भदौ २ गते हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को नेतृत्वमा नगरपालिकाको अनुगमन टोलीले नगरभित्रका दुई वटा पानी उद्योगको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0