जुम्ला/कालीकोट । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत कालिकोट-जुम्ला सडकखण्ड ३० घण्टापछि पुनः सञ्चालनमा आएको छ। अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक मंगलबार दिउँसो एकतर्फी खुलेकाे हो।

कालिकोटको चौखोलामा र बिर्तामोडमा खसेको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि हिजोदेखि बाटोमै रोकिएका यात्रुवाहक र मालवाहक गाडीहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार, पहिरोले घरजत्रा ढुंगासहितको अवरोध सिर्जना गरेकाले विस्फोटको आवश्यकता परेपछि सडक खुलाउन ढिलाइ भएको हो। उनका अनुसार हाल पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएकाे छ।

उक्त स्थानमा केहीबेरकाे हल्कादेखि मध्यम वर्षाले समेत स-सानादेखि ठुला ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि चौखोला, टाकुल्लालगायतका ठाउँहरूमा पनि सडक सुचारु भएको जानकारी दिएको छ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालयकाे भनाइ छ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको डिभिजन कार्यालय बताउँछ। यस क्षेत्रका स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0