काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ ।

रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।

नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।

कोको भए बिदा ?

२०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्य छन् । उनीहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल (पार्वती), कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन् । एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ पनि राष्ट्रिय सभाबाट बिदा भएका छन् । माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा विदा भएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0