काठमाडौँ । मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ ।
गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३४२ हजार रुपियाँ बराबरको ५०७ केजी निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सात महिनामा दोब्बरले यार्चागुम्बा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ । नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ । आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ । यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ ।
चीन, अस्टे«ेलिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ ।
विभागका अनुसार चालु आवको सात महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा चार करोड २० खाल रुपियाँ बराबरको ८४ किलो यार्चागुम्बा निर्यात भएको छ । यस्तै हङकङमा ३९९ केजी २६ करोड २४ लाखको निर्यात भएको छ । यार्चागुम्बा जडीबुटी, औषधी तथा महँगो किसिमको रक्सी बनाउनमा प्रयोग हुने गरेको छ । नेपालमा पाइने सात सयभन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधी यार्चागुम्बा पनि हो ।
हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ ।