काठमाडौं । वर्षेनी बढ्दो ग्राफमा रहेको नेपालको वैदेशिक व्यापार घाटामा केही महिनायता विश्राम लागेको छ । आयात निर्यात दुबै घट्दा वैदेशिक व्यापारघाटा पनि खुम्चिएको छ । चालु आर्थिक वर्षको ७ महिनासम्ममा वैदेशिक व्यापारघाटा कम भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो आधारमा आयात गत वर्षको तुलनामा २.३१ प्रतिशतले घटेको छ ।

नेपालको निर्यात पनि ७.०७ प्रतिशतले घटेको छ । यो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । आयात निर्यात घटेसँगै वैदेशिक व्यापारघाटा साघुरिएको हो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबर थियो ।

नेपालले १५७ वटा देशसँग गरेको वैदेशिक व्यापारमा नेपालको २८ देशसँगको व्यापार नाफामा छ भने बाँकी सबै देशसँगको व्यापार घाटामा छ । चिनसँग १ खर्ब ७१ अर्ब रुपैयाँ व्यापार घाटामा छ भने भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँ घाटामा छ । अफगानिस्तान, बरबुडा, अजरबैजान, अरुवा, बरमुडा, चाङ, कोलम्बिया, क्रोसिया लगायतका देशसँगको व्यापार भने नाफामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0