काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए ।
भारतले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ भन्ने मुल मन्त्र बनाएर गरिरहेको विकासमा नेपासहित छिमेकी मुलुकलाई पनि सँगै अघि लैजान खोजिरहेको बताए ।
आफ्नो नेपाल भ्रमणका क्रममा भौतिक, डिजिटल र उर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा पनि नेपाल सरकारलाई सहयोग गरिरहेको र त्यसलाई जारी राख्ने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयजस्तै अन्य संरचना निर्माणमा पनि भारतको सहयोग निरन्तर जारी रहने उनको भनाइ छ । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका छन् ।
शुक्रबार परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरले कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।तीन तले त्रिवि केन्द्रीय पुस्तकालय भवन भारतीय सहयोगमा निर्माण गरिएको हो ।